हाम्रो नेपाली खाना

नेता र राजनितीको कति कुरा गर्नु ? एकले अर्कालाइ गाली कति मात्र गर्ने ?  यी सबैलाइ छोडेर म चाहिँ नयाँ विषय तिर लाग्दैछुँ । आजसम्म कसैले यहाँ नलेखेको विषय- खाना । यो लेख चाही बँसिबियाँलो मात्र हो । लेख मीठो भयो भएन, राम्ररी पाक्यो पाकेन, कमेन्ट लेख्नु होला ।

पहिले कुरा गरउँ   खानाको । सारा संसारै यसमा टिकेको छ । हामी खानाले नै टिकेका छउँ, नढाँटी भन्ने हो भने खानाका लागि नै बाँचेका छउँ कि जस्तो पनि लाग्छ कहिले काहिँ त । नेपालीको कुरा नै खानाबाट शुरू हुन्छ । फोनमा कुरा पनि खानाबाटै शुरू हुन्छ । अँ त चिया खानु भयो ? अनि खाना खानु भयो त? आज किन खाना ढिलो त ? ए विकएण्ड भएर ? यस्तै यस्तै । त्यसैले शुरू गरउँ खानाको गफबाट । म नेपालमा विकाशे कार्यकर्ता थिएँ । एकदिन कामको शिलशीलामा पश्चिम नेपालको एक गाउँमा जाँदा भुटेको मकै र गुन्द्रुकले स्वागत गरेका थिए गाउँलेले र मैले संझेसम्म त्यो जति मिठो गुन्द्रुक मैले आजसम्म खाएको छैन । तपाइँलाइ थाहा छ अमेरिकामा गुन्द्रुक चाइनीज वा कोरियन पसलमा ड्राइड मस्टर्ड भनेर किन्न पाइन्छ भनेर ? यो चाहिँ अलि कालो कालो हुन्छ । स्वाद चाहिँ उस्तै उस्तै हो ।

मलाइ चाहिँ गजबका कुराहरू मिठो लाग्छ । जस्तै – डढेर रातो भएर पत्र बसेको भात । मेरी श्रीमतीलाइ त्यस्तो भात खाएको पटक्कै मन पर्दैन । लोग्नेमान्छेले त्यस्तो भात खान हुन्न रे बुद्धि घट्छ रे । बुद्धि भए पो घट्छ भन्दिनु पर्छ अनि केहि भन्दिन । मिठो चिज आफूले खान यस्तो जुक्ति निकालेका होलान् महिलाहरूले, कि कसो ? मेरो अर्को मनपर्ने खाना- बासी भात । यसमा पनि महिलाको पहिलो हक लाग्छ क्यारे । जे होस् । बासी भातलाइ अलिकति घीउमा भुट्नु पर्छ गजबको मीठो हुन्छ । सानो छँदा आमाले भुटेको बासी भातमा अलिकता चिनी राख्दिनु हुन्थ्यो त्यो स्वाद अझसम्म याद आउँछ मलाइ । भात बाहेक सारै मिठो लाग्ने अर्को कुरा चिया र चिउरा । शिशाको ग्लासमा तीन चउथाइ अलि चिनी बढी भएको चिया अनि त्यसमा चिउरा । त्यो चिया चिउरा चाहिँ मैले धेरै मिस ( ?) गरेँ नेपालमा र अमेरिकामा । अहिले त यसको चलन नै हराएर गयो । पाउरोटी र चाउचाउले यसलाइ खायो ।

अलि अगाडिको कुरा हो धरानमा घुघुनी (मटर केराउ झोल) बेच्न ल्याउँथ्यो हाम्रो स्कूल अगाडि । पाँच पैसाको आउँथ्यो । सारै मीठो पो हुनथ्यो त । त्यो जमानामा धरानमा पहाडबाट शुन्तला आउँथ्यो पाँच पैसा गोटा । ती सब त अब एकादेशका कथाहरू जस्तै भैसके ।

नेवारको भोज र खाना त नेपालको विशिष्ट संस्कृति नै भैहाल्यो । त्यसको वर्णन यहाँ गरेर सकिन्न । कुनै पाठकले कमेन्टमा वा कुनै अरू नै बेला यसबारे लेख्नु होला । नेवारको भोज पछि मलाइ मनपर्ने भोज भनेको मधेशको हो । तात्तातो पुरी, कचउरी, तरकारी, बुनीयाँ र जिलेबी अहिलै खाउँखाउँ लागिसक्यो । तराइको सातु र पहाडको ढीढो पनि मिलाएर खाए त कम्ता मीठो हुन्न है साथी हो ? पश्चिममा पोखरा, बाग्लुङतिरको सेल रोटी तात्तातो खान पाए अरू के चाहियो ?

नोकरीको शिलशीलामा हिमाल, पहाड र मधेस धेरै ठाउँहरू हेरियो, बसियो ती मध्ये अहिले मैले संझेको (काठमांडू उपत्यका बाहेक) तउलिहवा र वीराटनगरको सेकुवा, भैरहवाको पेँडा, वीरगंजको प्याजी-भुजा, बगेरी, नेपालगंजको बंगुरको सेकुवा, नारायणगढको तास र मार्फाको वाइन र ब्रायण्डि । मुस्ताङको स्याउ पनि भुलेको छैन । कसमस एअरलाइन्सले मेरो एक बक्स स्याउ खाइदिएको पनि संझेकोछुँ । खानाको कुरा गरेर हो कि के हो भोक लागे जस्तो भयो । यसमा थपथाप गर्ने जिम्मा पाठकहरूलाइ दिँदै मचाहिँ लागेँ भान्छा तिर । अस्तु ।।

Leave a comment